परिचय

शारीरिक र मानसिक विकासका दृष्टिले युवा भन्नाले किशोर अवस्था वा वयस्क अवस्था बीचको उमेर समूहलाई जनाउछ । यो समूह जनसंख्याको सर्वाधिक सक्रिय, उर्जावान\ र गतिशिल समूह हो । युवा शक्ति कुनै पनि देशको राजनीतिक, आर्थिक र सामाजिक परिवर्तनको संवाहक हो । युवा जनशक्तिको सङ्ख्यात्मक तथा गुणात्मक विकासका माध्यमबाट अहिलेका विकसित तथा विकासशील राष्ट्रले विकास निर्माणमा प्रगति हासिल गरेको देखिन्छ । हरेक देशको विकास र प्रगतिमा युवाको योगदान नै प्रमुख हुने गरेको छ । यसबाट नेपाल युवा जनसाङ्ख्यिक लाभांशबाट फाइदा लिई समृद्धि र विकासको सुनौलो युगमा प्रवेश गर्नसक्ने अवसरको अवस्थामा रहेको छ तथापि विविध कारणले देशको आर्थिक र सामाजिक क्षेत्रमा अपेक्षाकृत परिवर्तन हुन सकेको छैन ।

नेपालमा युवा विकासका लागि वि.सं. २०६६ सालमा पहिलो पटक र वि.सं. २०७२ मा परिमार्जित राष्ट्रिय युवा नीति २०७२ जारी गरियो । त्यसलाई प्रभावकारी रुपमा लागु गर्ने उद्देश्यले वि.सं. २०७२ सालमा युथ भिजन २०२५ तथा दशवर्षे रणनीतिक योजना जारी गरियो । यो दस्तावेज मिति २०७२/०६/१९ गते नेपाल सरकार मन्त्रीपरिषदबाट स्वीकृत भएको थियो । यसरी नेपालमा पहिलो पटक युवा विकासका लागि सरकारी स्तरबाट तयार भएको ठोश कार्ययोजना सहितको  दस्तावेजको रुपमा युथभिजन रहेको छ । यसको निर्माण गर्दा सरोकारवालाहरुसंग व्यापक छलफल, अन्तरक्रिया भएको र अत्यन्त सहभागितामूलक ढंगले निर्माण भएको थियो।

युवा अवस्थालाई विभिन्न मुलुकले फरक फरक तरिकाले परिभाषित गरेको पाइन्छ । संसारका विभिन्न देशहरूको अनुभव हेर्दा पनि युवाको उमेर समूह फरक फरक पाइन्छ । अधिकांश देशमा युवाको उमेर १५–३५ वर्षका बिचमा कायम गरिएको पाइन्छ भने संयुक्त राष्ट्रसंघ र विश्व बैंक जस्ता अन्तर्राष्ट्रिय संस्थाले १५ देखि २४ वर्षको उमेर समूहलाई युवा मानेको छ । नेपालको सन्दर्भमा  नेपालको अन्तरिम संविधानले १५ देखि २९ वर्षको उमेर समुहलाई युवा भनेर परिभाषित गरेको थियो । नेपालका राजनीतिक पार्टी र सामाजिक संघ संस्थाहरुले पनि आफ्नो अनुकुलतामा युवाको परिभाषा गर्दै आएको देखिन्छ । राष्ट्रिय युवा परिषद् ऐन, २०७२ तथा राष्ट्रिय युवा नीति, २०७२ ले १६ देखि ४० वर्षलाई युवा उमेर समूह निर्धारण गरेको छ । नेपालको जनसंख्याको १६ देखि ४० वर्ष उमेर समूहलाई हेर्दा यो कुल जनसङ्ख्याको ४०.३५ प्रतिशत रहेको छ र आउने दशकमा यो प्रतिशत अझै बढ्ने निश्चित छ । यो नेपालको लागि जनसाँङ्खिक लाभ (Population Dividend) को समय पनि हो । नेपाल सरकारका विभिन्न निकायमा युवा उमेर समूहबारे अझै एकरूपता कायम हुन नसकिरहेको सन्दर्भमा ‘युथ भिजन – २०२५ मा १६ देखि २४ वर्ष र २५ देखि ४० वर्षको उमेर समूहमा विभाजन गरी समूहगत प्राथमिकता निर्धारण गरिएको छ । पहिलो समूहका युवालाई शिक्षा, व्यक्तित्व र सीप विकासको चरण मानिएको छ भने दोश्रो समूहलाई व्यवसाय, स्वरोजगार र आयआर्जन गर्ने समयको रुपमा परिभाषित गरिएको छ ।

यसरी राष्ट्रिय युवा नीति २०७२ र युथभिजन २०२५ तथा दशवर्षे रणनीतिक योजनामा परिलक्षित गरिएका युवालक्षित योजना र कार्यक्रमहरुलाई समस्त नेपाली युवाको विकास र परिचालनका लागि केन्द्रीय सरकारी निकायको रुपमा राष्ट्रिय युवा परिषद् ऐन २०७२ बमोजिम नेपाल सरकारले राष्ट्रिय युवा परिषद स्थापना गरेको हो । यस परिषदले नेपाल सरकारले स्वीकृत गरेका युवालक्षित कार्यक्रमको संघीय तह¸ प्रदेश तह र स्थानीय तहमा कार्यान्वयन तथा सोको लागि सहजीरकण गर्नुका साथै अन्य सरकारी तथा गैरसरकारी निकायहरुबाट सञ्चालित युवालक्षित कार्यक्रमहरुको समन्वय¸ सहकार्य र सहजीरकण गर्ने काम समेत गर्दछ ।

हाल यसको केन्द्रीय कार्यालय सानोठिमी भक्तपुरमा रहेको छ । यसका शाखाहरु सबै जिल्लाहरुमा जिल्ला युवा समितिका कार्यालयहरु रहेका छन् । केही वर्षदेखि नेपाल संघीय ढाँचामा गइसकेपछि यसका संगठनात्मक ढाँचा र स्वरुपहरु परिवर्तन हुने क्रममा रहेका छन् । आगामी दिनमा केन्द्रमा राष्ट्रिय युवा परिषद¸ प्रदेश स्तरमा प्रदेश युवा परिषद् ¸ जिल्लामा जिल्ला युवा समन्वय इकाइ तथा सबै स्थानीय तहमा स्थानीय युवा परिषदको रुपमा विकास गरिने र प्रत्येक वडा तहमा युवाक्लबहरुको गठन गरी युवाका गतिविधिहरु सञ्चालन गर्ने यसका अंग तथा इकाइहरुलाई स्थानीय तहको वडा तथा गाउँ तहसम्म विस्तार गरिनेछ ।

दूरदृष्टि

नेपाली युवालाई सबल¸ प्रतिस्पर्धी र आत्मनिर्भर बनाउदै राज्यका हरेक अंगमा सार्थक सहभागिता सुनिश्चित गरी नेपाललाई आधुनिक¸ न्यायपूर्ण र समृद्ध राष्ट्र बनाउने ।

दीर्घकालीन लक्ष्य

  • युवाको नेतृत्व तथा क्षमता विकास
  • उद्यमशिलताको विकास र स्वरोजगार
  • युवाको पहुँच र सहभागिताको सुनिश्चितता
  • समृद्ध राष्ट्र निर्माण

मान्यता

  • स्वस्थ¸कर्मठ र उद्यमी युवा
  • अधिकार र कर्तव्य प्रति सचेत युवा
  • समावेशी र सशक्त युवा
  • नेतृत्वदायी र स्वाबलम्बी युवा

उद्देश्य

  • राष्ट्र निर्माण एवम् राष्ट्रिय विकासमा युवाको भूमिका र सम्भाव्यताको विकास र विस्तार गर्ने,
  • युवावर्गमा सिर्जनशीलता, उद्यमशीलता तथा अन्वेषणात्मक क्षमताको विकास गरी राष्ट्रको आधारभूत शक्तिका रुपमा स्थापित गर्दै उनीहरुमा रहेका क्षमता उजागर गर्ने,
  • श्रमको सम्मान गर्ने संस्कृति विकास गर्दै युवाको शारिरीक, मानसिक, बौद्धिक, नैतिक तथा संवेगात्मक पक्षको समुचित विकास गरी उच्च मनोबलयुक्त, नैतिक, सुंसस्कृत, सिर्जनशील तथा व्यवसायिकरुपमा दक्ष युवा तयार गर्ने,
  • युवाका आधारभूत अधिकारहरु सुनिश्चित गर्दै उत्पादनशील स्रोतहरुमा उनीहरुको पहुँच बढाएर राष्ट्रका राजनीतिक, आर्थिक, सामाजिक एवम् सांस्कृतिक क्षेत्रका सबै तहका नीति निर्माण, निर्णय एवम् कार्यान्वयनमा सहभागी गराउनुका साथै लैङ्गिक संवेदनशीलतामा आधारित अर्थपूर्ण सहभागिताका माध्यमबाट नेतृत्व क्षमता विकास गरी युवालाई राष्ट्रिय विकासको संवाहक शक्तिका रुपमा स्थापित गर्ने,
  • प्राथमिकता तथा विशेष प्राथमिकताको समुहका युवालाई सकारात्मक विभेदका माध्यमबाट सशक्त गरी विकासको मूल प्रवाहमा ल्याउने ।