कार्यकारी उपाध्यक्षज्यूको भनाइ

नेपालमा लामो समयको युवाहरुको निरन्तर सकारात्मक दबाब एवं अथक प्रयास पछि वि.सं. २०६५ मा युवा तथा खेलकुद मन्त्रालयको स्थापना भएको छ । युवा विकासका लागि विविध कार्यक्रमहरु यस मन्त्रालयबाट सञ्चालन हुँदै आइरहेकोमा वि.सं. २०७२ सालमा राष्ट्रिय युवा परिषद ऐन निर्माण तथा सोको आधारमा  युवाको हक हितको संरक्षण र सम्बद्र्धन गरी समुन्नत मुलुक निर्माणका लागि सक्षम नागरिक तयार गर्न तथा युवालाई सशक्तीकरण  गर्ने उद्देश्यले राष्ट्रिय युवा परिषदको स्थापनासंगै अव ती सबै कार्यक्रमहरु यस परिषदबाट सञ्चालन हुनेछ ।

नेपालमा पहिलो पटक निर्माण भएको यस परिषदले  राष्ट्रिय युवा परिषद ऐन २०७२, राष्ट्रिय युवा नीति २०७२ तथा युथ भिजन २०२५ को मर्म र भावना अनुसार वृहत संख्यामा रहेको युवा जनशक्तिलाई समयानुकुल सशक्तीकरण गर्दै युवा परिषद्ले पहिलो चरणमा शिक्षा, स्वास्थ्य, उद्यमशीलता  र नेतृत्व विकासमा  युवाहरुको भूमिका र परिचालनलाई मूल प्राथमिकतामा राखेर अगाडि बढ्ने प्रतिवद्धता जाहेर गर्दछ । त्यस्तै आगामी १० वर्ष भित्र युवा विकास तथा परिचालनको लागि तयार गरिएको दीर्घकालीन रणनीतिको रुपमा रहेको युथ भिजन २०२५ ले परिलक्षीत गरेका कार्यनीतिहरुको कार्यान्वन गर्ने तर्फ हाम्रा पाइलाहरु अगाडि बढ्नेछन् । उक्त भिजनका दशवर्षे रणनीति र कार्यक्रमका पाँच स्तम्भहरु (Five Pillars) लाई समयसापेक्ष सवलीकरण गर्दै हाम्रा संपूर्ण साधन र स्रोतहरुलाई यस दिशा तर्फ केन्द्रित गर्ने सोंच रहेको छ ।
    अतः “समृद्ध नेपाल निर्माणका लागि कर्मठ, सिर्जनशील र उद्यमी युवा” भन्ने मूल मन्त्रलाई आत्मसात गर्न र यस तर्फ चालिएका हाम्रा यी पाइलाहरुमा मन वचन र कर्मले साथ दिंदै यसका हरेक क्रियाकलापहरुमा समन्वय, सहकार्य तथा रचनात्मक सुझाव सल्लाहका साथ परिषदलाई थप उर्जाशील बनाउने दिशामा सहयोग गर्न हामी संपुर्ण युवा वर्ग, सरकारी तथा गैर सरकारी निकायहरु, स्थानीय निकायहरु, सहयोगी मित्रराष्ट्रहरु, दातृ निकाय, शिक्षाप्रेमी, समाजसेवी, संपूर्ण राजनैतिक दल तथा तिनका युवा भातृ संस्थाहरु, गैर आवासीय नेपाली संघ, सञ्चारकर्मीहरु लगायत संपुर्ण नागरिक समाजलाई हामी हार्दिक अनुरोध गर्दछौं । धन्यवाद ।